काठमाडौं । दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपलाई लक्षित गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विगत डेढ महिनादेखि तयारी गरिरहेको छ ।
सन् २०१० देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले तीन पटक फाईनल खेलेको छ । दुर्भाग्य तीनै पटक भारतसंग हारेको छ ।
ईतिहासको यो नमिठो पिडा नेपाल बिर्साउन चाहन्छ । त्यसैले ओलम्पिक छनोटको तयारी गरिरहेको नेपालले साफ च्याम्पियनसिपलाई लक्ष्य बनाएको छ ।
नेपालले अहिलेसम्म दक्षिण एसियाली फुटबलको महिला स्पर्धामा कुनै पनि ठुला उपाधि जित्न सकेको छैन् । नेपालकालागि भारत सधै तगारो बन्दै आएको छ ।
सन् २०१० को फाइनलमा नेपाल भारतसँग १–० को झिनो अन्तरले पराजित भएको थियो । दोस्रो संस्करणमा समेत नेपाल भारतसंगै पराजित भयो । दोस्रो संस्करणमा आईपुग्दा हारको अन्तर भने ठुलो बन्यो । अर्थात भारतले खेल ३–१ ले जितेको थियो ।
तेस्रो संस्करणमा नेपाली टिमको पराजयको अन्तर अझ ठुलो बन्यो । नेपाली टिम भारतसंग ६–० ले पराजित बनेको थियो ।
विगतमा दक्षिण एसियाली फुटबलमा नेपाल र भारत मात्रै बलिया देखिन्थे । पछिल्लो समय बङ्गलादेशले समेत महिला फुटबलमा ठुलै प्रगती गरेको छ । बङ्गलादेशले महिला फुटबलमा नेपाललाई पछाडी पार्दै गइरहेको छ । पछिल्लो समय नेपाललाई पराजित गर्दै उसले भारतलाई समेत चुनौती दिन थालेको छ ।
सन् २०१६ मा भारतमा भएको साफ प्रतियोगितामा बंगलादेशले फाईनल खेलेको थियो । बङ्गलादेशले सिनियर टिममा मात्रै नभई उमेर समुहमा पनि ठुलै फड्को मारेको छ । भखरै सम्पत्र एएफसी यु–१६ महिला क्वालिफायर छनोटमा बङ्गलादेश छानिएको छ । नेपाली टोली पछिल्लो समय भारत र बङ्गलादेशसँग पछाडी पर्दै आइरहेको छ ।
भर्खरै भुटानमा भएको साफ यु–१८ च्याम्पियनसिपमा नेपाल फाईनलमा बंगलादेशसंगै पराजित बन्यो ।
साफको लामो तयारीमा जुटेको नेपालकालागि सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोट समेत महत्वपुर्ण छ । यही छनोट प्रतियोगितामा भारत र बंगलादेश जस्ता टोली समेत सहभागि छन् । नेपालका चीरप्रतिद्वन्द्वी बगलादेश र भारत समेत ओलम्पिक छनोटमा भेट हुनेछन् । ओलम्पिक छनोटले नेपालको साफको तयारीलाई अझ परिपक्क बनाउने पक्का छ ।
‘पहिला हामीलाई भारतमात्रै चुनौती रहन्थ्यो । अहिले बङ्गलादेशले पनि हामीलाई टक्कर दिन थालेको छ । हामी पछि पर्न थालेका छौँ ।’ महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्षक हरी खड्का भन्छन् ।
प्रशिक्षको रुपमा जिम्मेवारी लिदाँ आफुमाथि दबाब परेको समेत उनी स्विकार्छन् ।
‘यो मेरालागि अवसर हो । पहिलो पटक महिला टोली हेर्दैछु । यो मेरालागि कठिन समेत हो ।’ उनी भन्छन्, ‘सबैले अहिले महिला टिम साफमा दोस्रो भैहाल्छ भन्छन् । तर त्यो हैन । अहिले बङ्गलादेश नेपाल भारत सबैले राम्रो गर्दै आएको अवस्थामा त्यो मेरालागि चुनौती हो ।’
सदाझै नेपाली टिमको अग्रपंक्ति बलियो छ । सावित्रा भण्डारी दक्षिण एसियाली महिला फुटबलकै राम्रो स्ट्राईकर हुन् ।
‘अहिलेको आधुनिक फुटबलमा जसले गोल गर्छ, उसैले जित्ने हो । हामीसंग दक्षिण एसियाकै राम्री स्ट्राईरक सावित्रा छिन् । हामी आक्रमक फुटबलनै खेल्छौ । मिडफिल्डसमेत राम्रो छ । अब डिफेन्सलाई अलि सुधार्नुपर्छ ।’ प्रशिक्षक खड्का भन्छन् ।
साफको तयारी राम्रो तरिकाले अघि बढेको बताउँदै प्रशिक्षक खड्काले मुख्य उदेश्य भनेकै उपाधि रहेको बताउछन् ।
‘खेलाडीले राम्रो मेहनत गरिरहेका छन् । त्यसैले लामै तयारी सुरु गरेका छौ ।’ उनी भन्छन् ।
तर नेपालको घरेलु महिला फुटबल नाजुक अवस्थामा छ । बर्षमा एक दुई प्रतियोगितामा महिला फुटबल सिमित छ । यसको प्रत्यक्ष असर अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रर्दशनमा परिरहेको छ ।
विभागीय टिम आर्मीले आयोजना गर्ने प्रधानसेनापति कप महिला प्रतियोगिता बाहेक घरेलु फुटबलमा कुनै नियमित प्रतियोगिता छैन । हप्ता दिन चल्ने नाममात्रको लिगले महिला फुटबलको धरातल बन्न सकेको छैन ।
पछिल्लो समय नेपालले उमेर समुहमा धेरै प्रतियोगितामा सहभागिता जनाएको छ । यु–१५, यु–१६ र यु–१८ को साफ च्याम्पियनसिप नेपालले खेलेको छ । नेपाल आफैले साफको उमेर समुहको प्रतियोगिता समेत आयोजना गर्दैछ ।
नेपाली टिमकी कप्तान रेनुका नगरकोटी समेत ओलम्पिक छनोटको तयारी गरेपनि लक्ष्य साफको उपाधिनै रहेको बताईन् ।
‘हामीले ओलम्पिकसंगै साफको तयारी गरिरहेका छौ । ओलम्पिकमा छनोट हुनु हाम्रो लक्ष्य हो । तर बंगलादेश र भारतसंग खेल्ने हुनाले साफको तयारी समेत राम्रोनै हुन्छ । हाम्रो मुख्य लक्ष्य भनेको साफको उपाधिनै हो,’ कप्तान नगरकोटीले भनिन् ।