काठमाडौं । अट्याकिङ मिडफिल्डर प्रिती राईले बिहीबार राष्ट्रिय महिला फुटबल टिममा डेब्यु गरिन् ।
दशरथ रंगशालामा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट प्रितीले डेब्यु गरेकी हुन् ।
प्रितीको डेब्यु खेल सानदार रह्यो । नेपालको जितमा प्रितीले गोल समेत गरिन् । प्रितीको गोल विश्वस्तरीय थियो ।
राष्ट्रिय टिममा सानदार डेब्यु गरेकी प्रिती आफ्नो प्रदर्शनबाट खुशी छिन् । तर, आफुलाई अझै राम्रो खेलाडीको रुपमा स्थापित गर्न चाहन्छिन् ।
'आजको खेल राम्रो भयो । गोल भयो । तर, अझै सुधार गर्नुपर्नेछ । सुधार गर्नेछौँ,' प्रितीले खेलपछि भनिन्, 'यो भन्दा अझै राम्रो हुने मेरो लक्ष्य छ ।'
एपीएफ क्लबकी प्रितीले नेपालको उमेर समूहको टिमबाट खेलिसकेकी छिन् । प्रितीले यू-१५ टोलीको कप्तानी गरिसकेकी छिन् ।
प्रितीले खेलको २३ औं मिनेटमा बक्स बाहिरबाट गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी थिइन्। त्यसअघि सबिता रानाले गोल गरेकी थिइन् ।
यस्तै प्रितीले आफुले माथिल्लो स्तरमा जनको लागि मेहेनत गरिरहेको बताईन् ।
'प्रशिक्षकले विश्वास गरेर मलाई यो पोजिसन दिनु भएको छ । आफैलाई अझै अर्को लेभलमा लैजाने कोशिस गर्नेछु,' उनले भनिन् ।
प्रिती खेलको मोस्ट भ्यालुएबल प्लेयर समेत चुनिएकी थिइन् ।