काठमाडौं । पोर्चुगाली सुपरस्टार क्रिस्टियानो रोनाल्डो अहिले म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा व्यस्त छन् ।
अब सबैको ध्यान उनले क्लबका लागि कहिले दोस्रो डेब्यु गर्नेछन् भन्नेमा छ ।
भनिएको के छ भने म्यानचेस्टरले रोनाल्डोलाई चाँडै खेलाउनमा हतार गर्ने छैन् । उनलाई म्यानचेस्टरमा अभ्यस्त हुन केही समय दिनेछ ।
ठीक यही बेला रोनाल्डोले म्यानचेस्टरका लागि पहिलो पल्ट डेब्यु गर्दा टिममा को को खेलाडी थिए भन्ने जिज्ञासा पनि उत्पन्न भइरहेको छ ।
बेलायती मिडियाले यसकै खोजविन गरेर समाचार छापिरहेको छ । सन् २००३ को अगस्ट १६ मा उनले पहिलो पल्ट म्यानचेस्टरका लागि खेलेका थिए र यो केही नभएपनि छ हजार छ सय दिन भन्दा बढी भइसकेको छ ।

त्यति बेलाका प्रशिक्षक को थिए, त्यो त सबैलाई थाहा छ । सर एलेक्स फर्गुसनको म्यानचेस्टरमा जगजगी भएको समय थियो । न्युकासल युनाइटेडविरुद्ध प्रिमियर लिगको खेल थियो, ओल्ड ट्रायफोर्डमा भएको ।
फर्गुसनले रोनाल्डोलाई सब्टिच्युटका रूपमा मैदान छिराएका थिए, ६१ औं मिनेटमा निकी बटको स्थानमा । बटसँगै पहिलो रोजाईका ११ खेलाडी थिए, गोलरक्षकमा टिम हवार्ड ।
यस्तै डिफेन्सतर्फ राइट ब्याकमा फिल नेभिल, सेन्टर ब्याकमा रियो फर्डिनान्ड, सेन्टर ब्याकमा मिखेल सिल्भेस्टर र लेफ्ट ब्याकमा क्विटेन फर्चुन ।
मिडफिल्डमा बट त थिए नै, अरू रोय किन र पउल स्कोल्स थिए । अनि फरवार्डमा रायन गिग्स, ओले गन सोल्सार र रुड भान निस्टलरोय थिए । थप दुई सब्टिच्युट पनि भएको थियो, एरिक जेम्बा जेम्बा र डिएगो फोर्लान ।
-मिररको सहयोगमा ।