काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।
पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
एक समय हारतर्फ अग्रसर नेपाललाई रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए ।
उत्कृष्ट सुरुवात गरेको नेपालले ४६ रन जोड्दा नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल १५ रन जोड्दा चाड सोपेरको बलमा आउट भए ।

नेपालले दोस्रो विकेटको रुपमा डेब्यु खेलाडी आसिफ शेखलाई ३० रनमा गुमायो । जतिबेला नेपालको स्कोर ४९ रन थियो।
त्यसपछि नेपालले लगातार विकेट गुमायो । ८२ रन जोड्दा ७ विकेट गुमाईसकेको थियो ।
तर, टिकेर खेलेका रोहितले ४१ रनको योगदान दिदै नेपालको जितको आधार तय गरेका थिए ।
यस्तै सोमपाल कामीले अविजित २२ रन जोडे । आठौं विकेटका लागि रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।
यस्तै आरिफ शेख ९ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्किए ।
शरद भेषवाकर पनि ६ रनमा आउट हुँदा कुशल मल्ल १ र पवन सर्राफ सुन्य रनमा आउट भए । बिक्रम सोब सुन्य रनमा अविजित रहे ।
पीएनजीका गौडी टोकाले ३ तथा चाड सोपेर र डामिन राभुले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।
पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए ।
किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए ।
कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १/१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।
डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिए । बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।
यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए ।
यस जितसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो ।

र, यो पनि ....
बिक्रमको कीर्तिमान