काठमाडौंमा । बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबल खेल्ने राष्ट्रिय फुटबल टिमको आज बिदाई गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरि नेपाली खेलाडीको बिदाई गरिएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा सहित एन्फा पदाधिकारीले खेलाडीको बिदाई गरेका थिए । खेलाडीलाई शुभकामना दिदै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उपाधि लक्ष्य सहित मैदानमा उत्रन आग्रह गरेका थिए ।
प्रतियोगिताको साविक विजेता नेपालले अन्तिम समयमा आएर प्रतियोगिता खेल्ने निश्चित गरेको हो । साफ फुटबलमा सहभागि टिमलाईनै नेपालले बंगबन्धु गोल्डकपमा उतार्नेछ । समय अभावका कारण किरण चेम्जोङ र रोहित चन्दले बंगबन्धु खेल्न पाउने छैनन् । नेपाली टिम आजै बंगलादेश प्रस्थान गर्नेछ ।
यस संकरणको प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । र, नेपालले पहिलो खेलमा ताजकिस्तानसंग खेल्नेछ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ ।
६ टोलि रहने प्रतियोगिताको समूह 'बी' मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।
बंगलादेशको राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा नेपाल साबिकको विजेता हो । नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा विमल घर्तीमगर,नवयुग श्रेष्ठ र बिशाल राईले गोल गरेका थिए ।