एजेन्सी । इंग्लिस क्लब वाट्फोर्डका कप्तान ट्रोय डेनी टिमको प्रशिक्षणमा नजाने भएका छन् ।
कोरोना भाईरसको महामारीको कारण स्थगित वाट्फोर्डको प्रशिक्षण मंगलबारबाट सुचारु हुँदैछ ।
तर, सानो समूह बनाएर गर्ने टिमको प्रशिक्षणमा कप्तान डेनी नजाने भएका हुन् ।
डेनीले आफ्नो परिवारको स्वास्थ्यलाई ख्याल राख्दै प्रशिक्षणमा नफर्कने जनाएका छन् ।
डेनीले आफ्नो बच्चालाई सास फर्न गार्हो हुने समस्या भएको कारण थप भाईरस आउने डर भएकोले प्रशिक्षणमा नजाने बताएका छन् ।
'हामी यस हप्ता प्रशिक्षणमा जाँदै छौँ । तर, मैले भने नि म जान्न,' डेनीले भनेका छन्, 'मेरो छोरा केवल पाँच महिनाको छ । उसलाई सास फेर्न गाह्रो हुन्छ । त्यसैले म उसलाई अझ खतरामा राख्न चाहन्न ।'
यता, क्लबले पनि डेनीको अडानलाई ठुलो विवाद नबनाउने भएको छ ।
प्रिमियर लिग क्लबको सोमबार बसेको बैठकले रोकिएको प्रशिक्षण मंगलबारबाट गर्ने निर्णय गरेको थियो ।
तर, खेलाडीले सामाजिक दुरी कायम राख्नु पर्नेछ । एक अर्काविरुद्ध सम्पर्क गर्न पाउने छैनन् ।
कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।