एजेन्सी । कोरोना भाईरसको महामारीले स्थगित जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल भोली (शनिबार) बाट सुचारु हुँदैछ ।
कोरोनाको कारण गत मार्चबाट स्थगित भएको लिग करिब दुई महिनापछि पुन: सुचारु हुन लागेको हो ।
बुन्डेस लिगा कोरोनापछि सुचारु हुने पहिलो युरोपियन शीर्ष लिग हो । फ्रान्सको लिग वान रद्द भईसकेको अवस्थामा बुन्डेस लिगा भने सुचारु हुन लागेको हो ।
शनिबार लिगमा विभिन्न ६ खेल हुनेछ । तर, सबै खेल दर्शक विना बन्द रंगाशालामा हुनेछ ।
नेपाली समय अनुसार साँझ ७:१५ बजे पाँच खेल हुनेछ । जसमा बोरुसिया डर्टमण्डले शाल्केसँग घरेलु मैदानमा खेल्नेछ ।
डर्टमण्ड लिगको दोस्रो स्थानमा छ । शाल्केविरुद्ध जित निकाल्दै डर्टमण्ड शीर्ष स्थानको वायर्न म्युनिखसँग अंक दुरी कम गर्न चाहन्छ ।
डर्टमण्डको २५ खेलमा ५१ अंक रहेको छ । वायर्नको ५५ अंक रहेको छ । ३७ अंक जोडेको शाल्के छैटौं स्थानमा रहेको छ ।
यस्तै अग्स्बर्ग र वुल्फवर्ग, फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्न, होफेनहाइम र हेर्था बर्लीन तथा आरबी लिपजिग र फ्रेईबर्गबीच खेल हुनेछ ।
फ्रान्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीचको खेल भने राति १०:१५ बजे सुरु हुनेछ ।