एजेन्सी । कोरोना भाईरसको कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल आगामी जुन महिनाबाट सुचारु हुने सम्भावना बढेको छ ।
इंग्ल्यान्ड सरकारले जुनबाट प्रिमियर लिग सुचारुको लागि अनुमति दिएसँगै लिग सुचारुको सम्भावना बढेको हो ।
लिग सुचारुका लागि इंग्ल्यान्डको संस्कृति सचिव ओलिभर डोडेनले बिहिबार फुटबल एसोसियसन, प्रिमियर लिग र इंग्लिस फुटबल लिगसँग छलफल गरेका थिए ।
छलफलमा संस्कृति सचिव ओलिभरले जुनमा सुचारु गर्न सुझाव दिएको बताईएको छ ।
संस्कृति सचिव ओलिभरले प्रिमियर लिगको योजनामा सहमति बनेको बताए ।
'यदि सुरक्षित हुन्छ र खेलाडी, प्रशिक्षक र स्टाफहरुको स्वास्थ्य र कल्याण हुन्छ भने मात्र अघि बढ्नेमा सहमत भयौं,'ओलिभरले भने, 'फुटबल अधिकारीहरु उनीहरुको योजनामा सहमत छन् । र, प्रशंसक, फुटबल समुदाय र सम्पूर्ण राष्ट्रको सद्भाव पाउन तयार छन् ।'
यस्तै ओलिभरले सरकार र सरकारको मेडिकल विज्ञहरु खेललाई सहयोग गर्न गाइड गर्न तयार भएको समेत बताए ।
कोरोनाको कारण प्रिमियर लिग गत मार्चबाट स्थगित गरिएको छ । यस्तै सरकारले आगामी जुन १ सम्म भने सम्पूर्ण खेलकुद गतिविधि बन्द गरेको छ ।
तर, प्रिमियर लिगले जुन १२ बाट लिग सुचारु गर्ने तयारी गरेको छ । प्रिमियर लिग सुचारु भएपनि बन्द रंगाशालामा खेलाईने छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।