एजेन्सी । फ्रान्सेली स्टार केलियन एम्बाप्पेले लिग वानमा गोल्डेन बुट प्राप्त गरेका छन् ।
कोरोना भाईरसको महामारीका कारण सिजन रद्ध बनेपनि एम्बाप्पेले लिग वानको गोल्डेन बुट प्राप्त गरेको हुन् ।
मोनाकोका खेलाडी विसम बेन एडर बराबरनै गोल गरेका एम्बाप्पेले सो अवार्ड प्राप्त गरे । दुवै फरवार्डले लिग वानमा समान १८ गोल गरेका थिए । तर पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टारलाई लिग वानको सर्वाधिक गोलकर्ताको रुपमा अवार्ड प्रदान गरिएको छ ।

'ओपन प्ले'मा एडर भन्दा धेरै गोल गरेका कारण एम्बाप्पेलाई अवार्ड प्रदान गरिएको हो ।
एडरले १८ मा ३ गोलमा पेनाल्टीको अवसर प्राप्त गरेका थिए । तर एम्बाप्पेले सबै १८ गोलमा कुनै पेनाल्टीको अवसर समावेश छैन ।
एम्बाप्पेमा प्रति खेलमा गोलको दर समेत उत्कृष्ट देखिएको छ । एम्बाप्पेले २० खेलमा १८ गोल गरेका हुन् भने उनले एडर भन्दा ६ खेल कम खेलेका छन् ।

एम्बाप्पेले गत सिजन समेत गोल्डेन बुट प्राप्त गरेका थिए । उनले २९ खेलमा ३३ गोल गर्दै सो अवार्ड जित्न सफल भएका थिए ।
गत हप्ता लिग रद्ध गर्दै पीएसजीलाई च्याम्पियन घोषणा गरिएको थियो । फ्रान्स सरकारले सेप्टेम्बरसम्म सम्पूर्ण खेलकुद गतिविधिमाथि प्रतिबन्ध लगाएको छ ।