एजेन्सी । प्रिमियर लिग क्लब लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भाईरस संक्रमणको लक्षण देखिएको छ ।
कोरोनाको लक्षण देखिएपछि तीन जना खेलाडीलाई छुट्टै राखेर उपचार थालिएको छ । तीनै खेलाडीलाई टिमबाट बाहिर राखिएको छ ।
मुख्य प्रशिक्षक ब्रेन्डन रोजगर्सले संक्रमणको आशंका गरिएका खेलाडीको विवरण नखुलाएपनि क्वारेन्टाईनमा राखेर उपचार प्रक्रिया अघि बढाएको बताएका छन् ।
प्रिमियर लिगमा लेस्टरले आगामी शनिबार वाटफोर्डसंग खेल्ने तालिका थियो ।
'हाम्रा केही खेलाडीले कोरोना संक्रमणको लक्षण देखाएका छन् ।' ब्रेन्डनले भनेका छन् ।
'वाटफोर्डबिरुद्वको खेल स्थगित भए निकै लज्जाको बिषय हुुन्छ । तर सार्वजनीक स्वास्थ्य महत्वपुर्ण बिषय हो ।' उनले थपेका छन् ।
बन्द रंगशालामा हुन सक्ने खेलको बिषयमा सोधिएको प्रश्नमा रोडजर्सले भने, 'खेल भनेको खेलाडी र प्रशंसकको हो । यदी दुई मध्य एक भएन भने खेल उही रहदैन ।'
खेलाडीमा लक्षण देखिएपनि पुष्टि हुने प्रमाण नभेटिएको भन्दै उनले खेलाडीमाथि निगरानी जारी रहेको बताएका छन् ।
बेलायत सरकारले चाँडै महामारीको बिषयमा औपचारिक धारणा सार्वजनीक गर्न सक्ने बताईएको छ । सार्वजनीक कार्यक्रममा सरकारले रोक लगाउन सक्ने अनुमान गरिएको छ ।
फैलदो संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसलाई महामारीको रुपमा घोषणा गरेको छ ।
बेलायतमा समेत ४ सय ८४ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा ८ जनाको ज्यान गईसकेको छ ।
कोरोनाकै कारण स्पेन र ईटालीको घरेलु लिग फुटबल स्थगित गरिएको छ । कोरोनाकै संक्रमणको आशंका गर्दै बुधबार म्यान्चेष्टर सिटी र आर्सनलबीचको खेल समेत स्थगित गरिएको थियो ।