काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा खुमलटार र टुसालले २-२ गोलको बराबरी खेलेको हो ।
रोमान्चक बनेको खेलको सातौं मिनेटमा मोहित गुरुङले गोल गर्दै टुसाललाई अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा महेश राईले गोल गर्दै खुमलटारलाई खेलमा फर्काए ।
खेलको २० औं मिनेटमा कप्तान सबिन केसीले पेनाल्टीमा गोल गर्न नसक्दा खुमलटार अग्रता बनाउन चुक्यो । खेलको ३० औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ६२ औं मिनेटमा सन्तोष दाहालले गोल गर्दै टुसाललाई हारबाट जोगाए ।
टुसालसँगको बराबरीसँगै खुमलटारले ४ खेलमा १० अंक जोडेको छ । खुमलटार लिगको तेस्रो स्थानमा रहेको छ ।
टुसाल ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।