पोखरा । पाँच पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो ।
मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले एक एक गोल गरे । आर्मीका भरत खवास र दिप कुमार लामाले एक एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको चौंथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङलाई १-० को अग्रता दिलाएका थिए ।
२९ औं मिनेटमा विमलले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । तर, ४१ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ८१औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा दिप कुमारले एक गोल फर्काएपनि आर्मीको हार टार्न सकेनन् ।
अब मनाङले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ ।
पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।