इलाम । विभागीय टिम त्रिभुवन आर्मी क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलामको टुँडिखेलमा आइतबार भएको क्वाटरफाइनलमा 'ए' डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीको जितमा सुदिल राईले दुई गोल गरे । संकटाका डेडी बाम्बाले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको सातौं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । बिबेक बस्नेतले करिब २० यार्डबाट प्रहार गरेको बल संकटाका गोलरक्षक विनय श्रेष्ठले पञ्च गरेर बचाए पनि रिवाउण्डमा आएको बललाई सुदिलले गोल गरेका थिए ।
खेलको ४१ औं मिनेटमा वाम्बाले गोल गर्दै खेल बराबरीमा ल्याए । डिबक्स भित्र मासोयूकेले दिएको पासमा बाम्बाले गोल गरेका थिए । तर, खेलको इन्जुरी समयमा सुदिलले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए ।
अब सेमिफाइनलमा आर्मीले माईभ्याली क्लब र मोहम्मडन स्पोर्टिङ क्लब कोलकाताबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगितामा सोमबार लिग विजेता मच्छिन्द्र फूटबल क्लब र गोर्खा ब्वाईज रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।