काभ्रे । दोस्रो संस्करणको काभ्रे गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ पाउने भएको छ ।
आयोजक काभ्रे जिल्ला फुटबल संघले शनिबार धुलिखेलमा पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणमा पुरस्कार राशीको वृद्धि गर्दै विजेताले ६ लाख रुपैयाँ प्राप्त गरिने बताएको हो । यस्तै, उपविजेता टिमले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यसअघि, पहिलो संस्करणमा विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
प्रतियोगितामा ए डिभिजनका क्लब सहित छिमेकी जिल्ला गरि १० टिमले सहभागीता जनाउनेछन् । प्रतियोगिता चैत १३ देखि २३ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि ४८ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस्तै, प्रतियोगिताको अनुमानित आम्दानी ५२ लाख रुपैयाँ राखिएको छ ।
हाम्रो गोल्डकप, काभ्रे गोल्डकपको नारा सहित सञ्चालन गर्न लागिएको काभ्रे गोल्डकप पहिलो संस्करण भन्दा थप ब्यवस्थित बनाईने जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले बताए ।
'अघिल्लो बर्ष पहिलो संस्करण भएर व्यवस्थापनमा केही कमजोरी भएको स्विकार गर्छु ।' उनले भने, 'प्रायोजकको वेवास्ताका बाबजुत पनि स्थानीय सरकार आएपछि धेरै फुटबल प्रतियोगिता हुदै आएको छ ।'
'पाँच बर्षकाे समयमा अरु जस्तै प्रतिष्ठित गोल्डकपकाे स्तरमा लैजाने तयारी गरेका छौ ।' उनले भने ।