काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई फुटबल खेल्न दुई वर्षको प्रतिबन्ध लगाएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरित कार्य गरेको भन्दै एन्फाको अनुशासन समितिले दिपेशलाई २ वर्षको प्रतिबन्ध गरेको हो ।
दिपेशले लिगको ५९ औं खेल अन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा प्रतियोगिताको नियमावली २१(७) विपरित कार्य गरेको एन्फाले जनाएको छ । यस्तै एन्फाले उनलाई ५० हजार जरिवाना समेत गरेको छ ।
एन्फाले दिपेशको नाममा पत्र लेख्दै प्रतिबन्ध र जरिवानाबारे जानकारी समेत गराएको छ । एन्फाले आजकै मितिबाट लागु हुनेगरि दिपेशलाई प्रतिबन्ध गरिएको जनाएको छ ।
दिपेश सुदुरपश्चिम-११ बाट खप्तड गोल्डकप खेलिरहेका छन् ।

यस्तै एन्फाले हिमालयन शेर्पाका टिम म्यानेजर विजेन्द्र पुडासैनीलाई तीन महिनाको निलम्बन र ३० हजार जरिवाना गराएको छ ।
त्यस्तै शेर्पाका गोलकिपर प्रशिक्षक मिन बहादुर बस्नेतलाई एक पटक सुध्रने मौकासहित चेतवानी दिईएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त खेलमा सरस्वतीले शेर्पालाई ४–३ ले हराउँदै लिगमा पहिलो जित दर्ता गरेको थियो ।
तर, त्यस खेलमा म्याच फिक्सिङ भएको भन्दै एन्फाको ईन्टिग्रिटी अफिसर सहितको टोलीले छानबिन गरेको थियो ।
गत साता सकिएको लिगमा सरस्वती रेलिगेशनमा पर्दै दोस्रो डिभिजनमा झरेको छ ।

यो पनि पढ्नुहोस् -
फिक्सिङ गर्न गोलकिपरलाई कप्तानको प्रस्ताव !
दर्शकलाई पनि थाहा हुन्छ – अब गोल हुँदैछ !
