काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्टिय टिमका फरवार्ड अभिषेक रिजाललाई मनाङ मस्याङ्दी क्लबबाट खेल्न रोक लगाएको छ ।
खेलाडी दर्ता नियमावली विपरित मनाङले खेलाडी अनुबन्धन गरेको कारण देखाउँदै एन्फाले अभिषेकलाई मनाङबाट खेल्न नदिने भएको हो ।
अभिषेकले यस सिजनको ए डिभिजन लिग मछिन्द्रबाट खेलेका थिए । लिगकै दौरान उनी माल्दिभ्सको लिग खेल्न विदेश उडेका थिए । उनले क्लबसंग स्विकृति लिएरै माल्दिभ्स खेल्न गएका थिए ।
माल्दिभ्सको लिग सकिए लगत्तै उनी नेपाल आए । मनाङ क्लबमा आबद्ध भए । उनी धरानमा जारी बुढाशुब्बा गोल्डकप खेल्न मनाङको जर्सीमा उत्रने तयारीमा थिए ।
तर एन्फाले खेलाडी दर्ता नियमावली विपरित एक खेलाडी एकै सिजन दुई क्लबमा आबद्ध हुन नपाउने उल्लेख गर्दै अभिषेकलाई मनाङबाट खेल्न रोक लगाएको जनाएको छ । एन्फाको निर्णयमा मनाङले गम्भिर आपत्ति जनाएको छ ।
मनाङ मस्याङ्दी क्लबका महासचिव अनिल गुरुङले एन्फाले मनाङमाथि अन्याय गरेको आरोप लगाए ।
महासचिव गुरुङले मछिन्द्रले रिलिज पेपर समेत दिएको अवस्थामा एन्फाकै कारण अभिषेकले मनाङबाट खेल्न नपाउने अवस्था सिजर्ना हुनु दुखद भएको बताए ।
उनले आफ्नो तेस्रो रोजाईका गोलकिपर मनोज प्रधान लिग सकिए लगत्तै अर्को क्लबबाट खेलेको उदाहरण दिदै अभिषेकको बिषयमा एन्फाले पक्षपातपूर्ण निर्णय गरेको बताए ।
'मनाङको तेस्रो रोजाईको गोलकिपर मनोजले लिग सकिए लगत्तै सताक्षी गोल्डकपमा आयोजकको टिमबाट खेल्दै हामीलाई पहिलो खेलमै हराएका थिए । तर अभिषेकले रिलिज लेटर पाएको अवस्थामा समेत मनाङबाट खेल्न नपाउने भयो ।' उनले भने ।
अभिषेकले गत सिजन मनाङबाट एएफसी कप खेलेका थिए । नयाँ सिजन अभिषेक सहित मनाङमा रहेका राष्ट्रिय टिमका अधिकांश अनुहारले नयाँ गन्तव्यको रुपमा मछिन्द्र क्लब रोजेका थिए ।
तर माल्दिभ्सबाट फर्किए लगत्तै अभिषयेक मोफसलको प्रतियोगिता खेल्ने गरि मनाङमा आबद्ध भएका छन् ।
स्टार अनुहारले क्लब छाडेपछि दबाबमा आएको मनाङले पुन ठुला खेलाडी क्लबमा राख्न प्रयास गरिरहेको छ । सोही अनुसार उसले अभिषेकलाई क्लबमा अनुबन्धन गरेको थियो ।
अभिषेकसंगै स्टार विदेशी फरवार्ड ओलावाले अफिजलाई समेत मनाङले मोफसल सहित राष्ट्रिय लिग खेल्ने गरि क्लबमा अनुबन्धन गरिसकेको छ ।
तर एन्फाले मनाङले लगाएको आरोप अस्विकार गरेको छ । एन्फा महासचिव ईन्द्रमान तुलाधरले एक क्लबमा दर्ता भएको खेलाडी एकै सिजन अर्को क्लबबाट खेल्न नपाउने बताएका छन् ।
‘मछिन्द्रमा दर्ता भएको खेलाडी अन्यबाट खेल्न पाउँदैन ।’ तुलाधरले खेलपाटीसंग भने, ‘अभिषेक मछिन्द्रको खेलाडी हो । उसलाई क्लबले विदेशबाट खेल्न मात्र स्विकृति दिएको हो ।’
तुलाधारका अनुसार लामो छलफल गरेर एन्फाले खेलाडी दर्ताका लागि क्लबहरुलाई जेठ मसान्तसम्मको समय दिएको छ । विदेशी खेलाडी दर्ता गर्दा कम्तिमा तीन महिना र नेपाली खेलाडी दर्ता गर्दा कम्तिमा एक बर्षको सम्झौता गर्नुपर्ने शर्त नियमावलीमा उल्लेख छ ।
‘विदेशमा जस्तो विन्डो प्रणाली छैन । क्लबसंग सहमतीमा ४८ घण्टा अगाडीसम्म खेलाडी दर्ता पाउने व्यवस्था छ । तर क्लबले रिलिज दिएको आधारमा एकै सिजनमा खेलाडीले क्लब फेर्न पाउँदैन ।’ तुलाधरले भने ।
तुलाधरले एक क्लबको खेलाडी एकै सिजन अर्को क्लबबाट खेल्दा कारबाही हुने समेत बताए ।
‘एउटा क्लबमा दर्ता भएको खेलाडी सोही सिजन अर्को क्लबबाट खेल्दा नियम विपरित हुन्छ । क्लबले उजुरी गरेको खण्डमा प्रोटेस्ट लाग्छ, कारबाही हुन्छ । कतिले थाहा नपाएको हुन सक्छ, सबैलाई चिठी पनि पठाउँदै छौ ।’ उनले भने ।
एन्फाका अनुसार अभिषेकले आसन्न राष्ट्रिय लिग लगायत मोफसल प्रतियोगिता मछिन्द्र बाहेक अन्य क्लबबाट खेल्न पाउने छैनन् ।
‘एउटै खेलाडी ए डिभिजन लिग एउटाबाट, राष्ट्रिय लिग अर्कोबाट र मोफसलका प्रतियोगिता अर्को क्लबबाट खेल्न पाउदैनन् । अभिषेक समेत मछिन्द्रमा दर्ता भएकाले बाँकी सिजन उनले अन्य क्लबबाट खेल्न पाउने सम्भावना रहदैन ।’ उनले भने ।