धरान । धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज मनाङ मर्स्याङ्दी क्लब र भारतको युके एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
धरान रंगशालामा हुने मनाङ र युकेबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छ ।
उपाधि दाबेदार मनाङले क्वाटरफाइनलमा मोरङको बेलबारी फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
भारतीय टोलीले भने आयोजक धरान फुटबल क्लबलाई हराएको थियो ।
मनाङ र युके एफसीबीचको विजेताले फाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् ।
यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।