एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार राति दुई ठुला क्लब रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्दै छन् ।
युरोपियन फुटबलकै सर्वाधिक सफल स्पेनिस क्लब रियलले घरेलु मैदानमा इन्ग्लिश क्लब सिटीसँग खेल्नेछ । खेल राति १:४५ बजे सुरु हुनेछ ।
सान्टियागो बेर्नाबेउमा दुवै टिम जित निकाल्दै क्वाटरफाइनलको यात्रा सहज बनाउने लक्ष्यमा हुनेछ ।
घरेलु मैदानमा रियल सिटीलाई हराएर दोस्रो लेग सहज बनाउन चाहन्छ । तर, रियललाई इडेन हाजार्डको चोटले सताउने छ । हाजार्ड सिटीसँगको खेलमा देखिने छैनन् ।
यता, सिटी घरेलु टोलीलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध सिटीलाई सहज भने छैन ।
यस सिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्न चुकिरहेको सिटी च्याम्पियन्स लिगमा भने उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । तर, सिटीको परिक्षा रियलको मैदानमा हुनेछ ।
सिटीले च्याम्पियन्स लिगको अघिल्ला चार भेटमा रियललाई उसैको मैदानमा हराउँन सकको छैन । दुई हार ब्यहोरेको सिटीले दुई खेल बराबरी खेलेको छ ।
रियल सिटीविरुद्ध आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । सिटी भने त्यसलाई ब्रेक गर्न चाहन्छ ।