काठमाडौं । पाचौं संस्करणको राईनो गोल्डकपको फाइनल खेल बुधबार (आज) हुँदैछ ।
नवलपुरमा हुने फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । मध्येबिन्दु मिनि रंगशालामा हुने फाइनल खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
विभागीय डर्बी भिडन्तमा दुवै टिम जित निकाल्दै सिजनको पहिलो उपाधि हात पार्न चाहन्छ । तर, दुवै टिम दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रने छन् ।
आर्मी युद्ध शाहीको कप्तानीमा खेल्नेछ । पुलिस भने हेम तामाङको कप्तानीमा मैदान उत्रने छन् ।
आर्मीले हिमालयन शेर्पा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आर्मीलाई फाइनल पुर्याउन सुदिल राईले ह्याट्रिक पुरा गरेका थिए ।
यता, पुलिस भने सेमिफाइनल खेलको २४ घण्टा नबित्दै फाइनल खेल्न लागेको हो । पुलिसले मंगलबार च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरेका थिए ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।