धनगढी । रुपन्देहीको गोर्खा ब्वाइज क्लब सर्वाधिक धनराशिको चौंथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा सोमबार सुनौलो संगमलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै गोर्खा ब्वाइज अन्तिम आठमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा गोर्खाले सफलता हात पार्यो ।
टाइब्रेकरमा गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र उत्तम गुरुङले पेनाल्टीमा गोल गरे ।
टाइब्रेकरमा गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ नायक बने । उनले सुनौलोका मोहन थापाको पेनाल्टी बचाएका थिए । सुनौलोका लागि रन्जित थापा, अजित थापा, शंकर राईले भने गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच गोर्खा ब्वाइजका गोलरक्षक मनोज चुनिए। उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे ।
अब गोर्खा ब्वाइजले सेमिफाइनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।
यससँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण समेत पुरा भएको छ । यस पटक एपीएफ क्लब, भारतको कंचनजंघा एफसी र नव जन जागृती यस अघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।
यस्तै आयोजक सुदूरपश्चिम-११, साविक विजेता नेपाल पुलिस, थ्री स्टार र हिमालयन शेर्पा क्लब भने बाई पाएर सिधै क्वाटरफाइनलमा पुगेको हो ।

मंगलबार हुने पहिलो क्वाटरफाइनलमा आयोजक सुदूरपश्चिम र कंचनजंघाबीच खेल हुनेछ ।
सुदुरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ । उपविजेताले १० लाख १ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।