एजेन्सी । म्यानचेस्टर युनाइटेड इन्ग्लिश प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा वाट्फोर्डलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष पाँचमा उक्लिएको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले एक एक गोल गरे ।

ओल्ड ट्राफोर्डमा ४२ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । युनाइटेडका लागि उनको यो पहिलो गोल हो ।
खेलको ५८ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेड २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७५ औं मिनेटमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई ३-० को सहज जित दिलाए ।

जितसँगै युनाइटेडले २७ खेलबाट ४१ अंक जोडेको छ । रेलिगेसन क्षेत्रको वाट्फोर्डले २४ अंक जोडेको छ ।
लिग अन्तर्गत नै अर्को खेलमा वुल्भ्सले नर्विचलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।