धनगढी । सिमराको नव जन जागृति क्लब चौथो संस्करणको अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कैलालीको हसनपुरथित धनगढी रंगशालामा आइतबार काठमाडौंको मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४-० गोल अन्तरले पराजित गर्दै जन जागृति अन्तिम ८ मा पुगेको हो ।
नव जन जागृतिको जितमा विवेक चौधरीले ह्याट्रिक गरे । यस्तै एक गोल सागर चौधरीको नाममा रह्यो ।
पहिलो हाफमा मदन भण्डारीसँग गोलरहित बराबरी खेलेको जन जागृतिले दोस्रो हाफमा भने लगातार गोल गर्यो ।
खेलको ५२ औं मिनेटमा सागरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवार अगाडी बढेको फाइदा उठाउदै सागरले सहज गोल गरेका थिए ।

खेलको ५९ औं मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । मदन भण्डारीका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दाको फाइदा विवेकले उठाएका थिए । खेलको ७९ औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै जन जागृतिलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै विवेकले ह्याट्रिक पुरा गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।
मदन भण्डारीले भने पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेन । खेलको ३७ औं मिनेटमा जन जागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीमा मदन भण्डारीका अशिम गुरुङ गोल गर्न चुके । उसको प्रहार जन जागृतिका गोलरक्षक दिल मनि चौधरीले बचाएका थिए ।
अब सेमिफाइनल प्रवेशका लागि जन जागृतिले थ्री स्टार क्लबको सामना गर्नेछ ।
खेलको म्यान अफ दि म्याच जन जागृतिका विवेक चौधरी चुनिए ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार गोर्खा ब्वाइज रुपन्देही र बुटवलको संगम क्लब भिड्नेछन् ।