काठमाडौं । ब्वाईज युनियन क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्घाटन खेलमा श्री कुमारी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै ब्वाईजले सुखद सुरुवात गरेको हो ।
ब्वाईजको जितमा वर्तमान राई र प्रदिप बोगटीले एक एक गोल गरे ।
खेलको ४१ औं मिनेटमा वर्तमानले गोल गर्दै ब्वाईजलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७६ औं मिनेटमा प्रदिपले गोल गर्दै ब्वाईजलाई २-० को जित दिलाए ।
जितसँगै ब्वाईजले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । श्री कुमारीले भने हारबाट सुरुवात गरेको छ ।
खेलमा ब्वाईजका अरुण लिम्बु म्यान अफ दि म्याच चुनिए ।

आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।