धनगढी । विभागीय टिम एपीएफ क्लब सर्वाधिक धनराशिको चौंथो सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो ।
एपीएफलाई जित दिलाउन रमेश दंगाल र बिकु तामाङले एक एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले सान्त्वना गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने एनआरटीले बनाएको थियो । खेलको ३९ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए ।

तर, दोस्रो हाफमा एपीएफ खेलमा फर्कियो । खेलको ६० औं मिनेटमा रमेशले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए । सुदिप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे ।
त्यसपछि खेलको ६५ औं मिनेटमा वैकल्पिक खेलाडी बिकुले गोल गर्दै एपीएफलाई २-१ को जित दिलाए । कप्तान टोप बहादुर बिष्टले प्रहार गरेको रिबाउण्ड बलमा बिकुले गोल गरेका थिए ।
अब एपीएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

खेलको म्यान अफ दि म्याच एपीएफक रमेश दंगाल चुनिए । उनले १० हजार सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत आइतबार नव जन जागृती क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन् ।