एजेन्सी । लण्डन क्लब चेल्सी स्टार एन गोलो कान्टे तीन हप्ता मैदान बाहिर रहने भएका छन् । मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले खुट्टाको चोटका कारण आफ्ना मिडफिल्डर तीन साता मैदान बाहिर रहने पुष्टि गरेका हुन् ।
फ्रान्सका विश्वकप विजेता टोलीका महत्वपूर्ण सदस्य कान्टेले गत सोमबार म्यान्चेष्टर युनाईटेडबिरुद्वको खेलमा चोट बोकेका थिए । सो खेलमा चेल्सी २–० ले पराजित बनेको थियो ।
कान्टेले तीन हप्ताको अन्तरमा ६ लिग खेल र कप खेल गुमाउनेछन् । कान्टेको चोटसंगै चेल्सीलाई यस सिजन गम्भिर धक्का लागेको छ ।
लण्डन क्लबले अर्को साता च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा जर्मन क्लब बार्यन म्युनिखसंग प्रतिस्पर्धा गर्दैछ ।

चेल्सी प्रिमियर लिगको चौथो स्थानमा छ । चेल्सीले शनिबार लण्डन डर्बीमा टोटेनहमसंग खेल्दैछ ।
यस्तै, लिभरपुलले एफ ए कपको पाँचौ चरणमा लण्डन क्लबलाई आतिथ्यता प्रदान गर्दैछ । यस्तै वर्नेमाउथ र एभर्टनसंग समेत तीन हप्ताभित्र चेल्सीले खेल्नेछ ।
कान्टेले सन् २०१६ मा लेस्टरबाट प्रिमियर लिगको उपाधि जितेका थिए । लगत्तै अर्को सिजन चेल्सीबाट सो उपलब्धी हात पारेका थिए ।
उनी यस सिजन चोटबाट निकै पिरोलिएका छन् । उनले लिगका २६ खेल मध्य १६ खेलमा मात्र खेल्न पाएका छन् ।