काठमाडौं । चौंथो संस्करणको सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपमा सहभागी दुई टिम परिवर्तन भएको छ ।
धनगढी रंगशाला शुक्रबारबाट सुरु हुने प्रतियोगितामा दुई टिम परिवर्तन भएको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले जनाएको छ ।
धनगढीमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले क्यामरुनको कोबा एफसी र जावलाखेल युथ क्लब परिवर्तन भएको जनाएको छ ।
अब कोबाको स्थानमा भारतको एलएनआईपीई क्लब र जावलाखेलको स्थानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेल्ने छ ।
आयोजक क्लबका अध्यक्ष सुरेश हमालले कोबालाई प्रतियोगिता नखेलाउन अखिल नेपाल फुटबल एन्फाबाट पत्र आएको र जावलाखेलले अन्तिम समयमा खेल्न नसक्ने जनाएको कारण दुई टिम परिवर्तन भएको बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती क्लब र कञ्चनजंघा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनल प्रवेशको लागि आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र भारतको गरि १२ टिम सहभागी प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया तथा उपविजेताले १० लाख १ रुपैँया पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।
यस्तै आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी समेत सकिएको जनाएको छ ।