काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
ललितपुरको सातदोबाटो मंगलबार १० खेलाडीमा सिमित विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन विमल राना र अन्जन बिष्टले एक एक गोल गरे ।
मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३२ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई १-० को अग्रता दिलाएका थिए । आदित्य चौधरीको पासमा विमलले सुरुवाती गोल गरे ।
त्यसपछि खेलको ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २-० को जित दिलाए । निशान लिम्बुले मिलाएको पासमा अन्जनले उत्कृष्ट गोल गरेका थिए ।
यस्तै खेलको ९० औं मिनेटमा विशाल बस्नेतले रातो कार्ड पाएपछि पुलिस १० खेलाडीमा समेटिएको थियो । मनाङका विमललाई खराब ट्याकल गरेपछि विशालले रातो कार्ड पाएका थिए ।
खेलमा मनाङका गोलकिपर दिप कार्की म्यान अफ दि म्याच चुनिए ।
पुलिसलाई हराएसँगै मनाङले शीर्ष दुई टोलीसँगको अंक दुरी समेत घटाएको छ । मनाङले १२ खेलमा २५ अंक जोडेको छ ।
मनाङ शीर्ष स्थानको आर्मी भन्दा ४ र दोस्रो स्थानको मछिन्द्र भन्दा एक अंकले पछि रहेको छ । मनाङको उपाधि होडबाट भने बाहिरीसकेको छ ।
पराजित पुलिस भने १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
मनाङका प्रशिक्षक तोपे फुजाले टिमको लक्ष्य शीर्ष तीनमा रहने बताए ।
'खेल राम्रो भयो । योजना अनुसार खेल्यौं । ट्याक्टिकल खेल राम्रो भयो । अब हामी शीर्ष तीनका लागि खेल्यौं,' फुजाले भने ।
पुलिसका प्रशिक्षक अनन्त थापाले केहि गल्तिको कारण खेलमा गोल खाँदा हार व्यहोरेको बताए ।
'जितेको भए शीर्ष ५-६ मा पक्का थियो । अट्याकिङ खेल खेलेपनि गल्तिको कारण गोल खायौं,' थापाले भने, 'अब सुपर सिक्स अन्तिम खेलले तय हुनेछ । त्यसका लागि लाग्छौं ।'
मनाङ प्लेईङ सेट -
कमल श्रेष्ठ, फ्लोरेन्ट कोने,दिप कार्की, दयानन्द सिंह,आदित्य चौधरी,पुजन उपरकोटी, एक राज बुढाथोकी, निशान लिम्बु, सरोज थापा, अन्जन बिष्ट, बिमल राना
पुलिस प्लेईङ सेट-
अजित भण्डारी, रोशन खड्का, अन्जन राई, निर कुमार राई, बुद्ध बल तामाङ,भरत साह, तेज तामाङ, हेम तामाङ, प्रवेश कुवर, रबि पासवान, सन्तोष हेम्रुन