काठमाडौं । ललितपुरे क्लब थ्री स्टार सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लिएको हो ।
थ्री स्टारको साँघुरो जितमा दिपेश घलेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दिपेशले गोल गर्दै थ्री स्टारलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले ७७ औं मिनेटमा निर्णायक गोल गरे । सुशील राईको स्थानमा मैदान छिरेका दिपेशले मैदान पसेको चार मिनेट नबित्दै डिबक्स बाहिर प्राप्त बललाई पोस्टको जाली चुमाएका थिए ।
खेलमा थ्री स्टारका गोलकिपर प्रिसो म्यान अफ दि म्याच चुनिए ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले १२ खेलमा २३ अंक जोडेको छ । यस्तै थ्री स्टार प्रतियोगिताको सुपर सिक्समा स्थान पक्का गरेको छ ।
थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लबलाई १ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको मनाङको २२ अंक रहेको छ ।
थ्री स्टारसँग पराजित एनआरटी १५ अंक जोडेर आठौं स्थानमा रहेको छ । यो हारसँगै एनआरटीको शीर्ष ६ को सम्भावना समेत कठिन बनेको छ ।
शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछ ।

के भन्छन् प्रशिक्षक ?
जितपछि थ्री स्टार प्रशिक्षक मेघराज केसीले टिमले शीर्ष ६ पक्का गरेको खुसी देखिए ।
'खेल सुपर सिक्स पक्का गर्नका लागि थियो । अवसर पाएपनि गोल भएन,' उनले भने, 'लिगको उदेश्य अनुसार नै नतिजा आयो । युवा खेलाडीले राम्रो गरे ।'
एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले आफ्नो टिम सुपर सिक्सबाट बाहिरिएको बताए ।
'खेल ठिकै भयो । मौका पाएपनि गोल भएन । प्रदर्शनबाट खुसी छु,' उनले भने, 'खेल बराबरी हुन्छ जस्तो लागेको थियो । तर, भएँन । अब सुपर सिक्सबाट बाहिर भयौं ।'
थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ, लाल राम्मव्रा, विक्रम लामा, प्रिसो,मिक्छेन तामाङ,रुपेश केसी,अशोक खवास, सुशन श्रेष्ठ,सन्जोग राई, निशान खड्का,सुशील राई
एनआरटी प्लेईङ सेट -
बिक्रम धिमाल, अजित प्रजापति, सनम लिम्बु, क्रितिश रत्न छुन्जु, दर्शन गुरुङ,जोर्डन जुनियर,एरिक बिष्ट, आन्द्रे थेरी, राजेश परियार, सकल रेग्मी, अशोक थापा