एजेन्सी । विश्व फुटबलका महान खेलाडी पेले सहायता बिना हिडडुल गर्न नसक्ने भएका छन् ।
७९ वर्षीय लिजेण्ड पेले हिपको समस्याको कारण सहायता बिना हिडडुल गर्न नसक्ने भएका हुन् ।
पेलेका छोरा एडिन्होले हिप समस्याको कारण आफ्नो बाबु एक्लै हिडडुल गर्न नसक्ने भएको र पछिल्लो समय बाहिर निस्कन हिचकिचाउने गरेको बताएका छन् । आफ्नो खराब स्वास्थ्यको कारण पेले निराश रहेको समेत उनले बताए ।
'उहाँको स्वास्थ्य नाजुक छ । उहाँले हिपको शल्यक्रिया गर्नु भएको थियो तर प्रयाप्त समय नहुँदा राम्रोसँग रिहाब हुन् सकेन,' एडिन्होले ग्लोब टिभीलाई भने , 'त्यसैले उहाँसँग गतिशीलताको समस्या छ र एक प्रकारको डिप्रेसन आएको छ । उहाँ सँधै प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो । आज उहाँ ठीकसँग हिंड्न सक्दैनन् ।'

तीन पटकको विश्वकप विजेता पेलेले २१ वर्षे फुटबल करियरमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका थिए । ब्राजिलका लागि ९१ खेलमा ७७ गोल गरेका थिए ।
पछिल्लो समय पेले धेरै समारोहमा व्हिलचेयरको सहायतामा उपस्थित हुँदै आएका छन् । आफ्नो स्वास्थ्यकै कारण पेले पछिल्लो समय बाहिर ननिस्किएको एडिन्होले बताए ।
'उहाँ लज्जित हुनुहुन्छ र बाहिर जान चाहँदैनन् वा व्यावहारिक रूपमा केहि पनि गर्न चाहन्न किनकि घर छोड्नु पर्छ । उहाँलाई आराम चाहिएको छ,' उनले भने । एडिन्होले हिपको अप्रेशनपछि राम्रोसँग फिजियोथेरापी नगर्दा अहिले समस्या देखिएको पनि बताए ।
पेलेले गत वर्ष मुत्रनलीको समस्याको कारण केहि साता अस्पतालमा बिताएका थिए ।