एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडले आज (आईतबार) राति ओसासुनासंग खेल्दैछ । लिगमा स्पष्ट तीन अंकको अग्रता लिएको रियल दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउन चाहन्छ ।
रियलको टिममा लामो समयपछि ग्यारेथ बेल फर्किएका छन् । ओसासुनाबिरुद्व उनी मैदान समेत उत्रन सक्नेछन् । पछिल्ला पाँच खेलमा उनी पहिलो पटक रियलको टिममा परेका हुन् ।
वेल्सका अन्तराष्ट्रिय फरवार्ड जनवरी २२ देखि रियलको टिममा छैनन् ।
उनले रियल भालाडोलिड, रियल जारागोजा, एट्लेटिको मड्रिड र रियल सोसिडाडबिरुद्वको खेल गुमाएका थिए ।
उनी पछिल्ला तीन खेलमा फिट थिए । तर उनलाई टिममा समावेश गरिएन । उनको अनुपस्थितीको बिषयमा मुख्य प्रशिक्षक जिनेदिन जिदानले वेलले गरिरहेको अभ्यासले उनलाई केही फरक नपार्ने बताएका थिए ।
'वेल यहाँ छन् । म मेरा खेलाडीसंग खुसी छु ।' जिदानले भनेका छन् ।
खेलाडी सरुवाको अन्तिम समय प्रिमियर लिग क्लब टोटेनहमले वेलमा ईच्छा देखाएको थियो । तर जिदानले वेल आफ्नो योजनामा रहेको बताएका थिए ।
वेललाई मड्रिड डर्बीमा समेत बाहिर राखिएको थियो । सो खेलमा करिम बेन्जिमाको गोलमा रियलले जित निकालेको थियो ।
आईतबारनै राति बार्सिलोनाले रियल वेटिससंग खेल्दैछ । यस्तै, सेल्टा डि भिगोले सेभिल्ल, रियल सोसिडाडले एट्लेटिको बिल्बाओ, स्पानियोलले मल्लोर्कासंग खेल्नेछ ।