एजेन्सी । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपनि युभेन्ट्सले सिरि ए फुटबलमा हार ब्यहोरेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सलाई भिरोनाले २–१ गोल अन्तरले हराएको हो । रोनाल्डोको गोलमा पछाडी परेको घरेलु टोली भिरोनाले युभेन्ट्सबिरुद्व पुनरागमन जित निकाल्न सफल भएको हो ।
रोनाल्डोले ६५ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
उनी युभेन्ट्सका लागि लगातार १० सिरि ए खेलमा गोल गर्दै पहिलो खेलाडी बने ।
सन् २००५ मा डेभिड ट्रेजेगुएटले सिरि एमा युभेन्ट्सका लागि लगातार ९ खेलमा गोल गर्दै कीर्तिमान कायम गरेका थिए । रोनाल्डोले युभेन्ट्सका जर्सीमा लिगमा लगातार १० गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।
त्यसपछि भिरोनाले लगातार दुई गोल गर्दै युभेन्ट्सलाई स्तब्ध बनायो ।
७६ औ मिनेटमा फाबियो बोरिनीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेल सकिन ४ मिनेट बाँकी छदाँ जिमपाओलो पाजिनीले घरेलु टोलीलाई पुनरागमन जित दिलाए ।
जितसंगै भिरोना ३४ अंक जोड्दै लिगको छैटौ स्थानमा उक्लिएको छ । युभेन्ट्स ५४ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत छ ।