काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य अभिषेक रिजाल रहेको टिम जेजे स्पोर्ट्सले माल्दिभ्सको दोस्रो डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
मालेमा शनिबार भएको खेलमा जेजेले माहिबाधु स्पोर्ट्स क्लबलाई ७-३ गोल अन्तरले पराजित गरेको हो ।
जेजेको जितमा नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेकले चार गोल गरे । मोहमद साहेद, अहमद ऐहाम र नाफिउले एक एक गोल गरे ।

अभिषेक सहिद स्मारक 'ए' डिभिजन लिग खेल्दा खेल्दै माल्दिभ्स गएका हुन् । उनले मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन खेलेका थिए । तर, जारी लिगमा उनले गोल गर्न भने सकेका थिएनन् ।
यस्तै यस क्लबबाट नेपाली यू-२३ राष्ट्रिय टोलीका गोलकिपर अर्पण कार्की पनि खेलिरहेका छन् ।