काठमाडौं । विभागीय डर्बीमा एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोमा बिहिबार भएको खेलमा एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा आर्मीको जितमा सन्तोष तामाङ नायक बने । आर्मीको जितमा दुवै गोल सन्तोषले गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । कप्तान भरत खवासलाई डिबक्स भित्र एपीएफका डिफेन्डर रमेश दंगालले लडाएपछी आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा सन्तोषको प्रहार एपीएफका गोलरक्षक राजु योगीले रोकेपनि रिबाउन्डमा सन्तोष गोल गर्न सफल भए ।

खेलको ३७ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए । कर्नरबाट आएको आएको बललाई रमेश दंगालले हेडमार्फत मिलाएको पासमा आशिषले गोल गरे ।
तर, खेलको ४२ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए । एपीएफका गोलरक्षक राजुले डिबक्स बाहिर आएर बल छोएपछी पाएको फ्रिकिकमा सन्तोषले उत्कृष्ट गोल गरे ।
सन्तोष म्यान अफ दि म्याच चुनिए ।

जितसँगै आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । र, मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको २५ अंक रहेको छ ।
बिहिबार नै सरस्वतीलाई ६-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र केहि घण्टाको लागि शीर्ष स्थानमा उक्लिएको थियो ।
आर्मीसँगको हारसँगै एपीएफलाई भने रेलिगेशनको डर कायम रहेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको ५ अंक रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिमको अबको लक्ष्य उपाधि रहेको बताए ।
'एपीएफसँगको खेलमा दबाब थियो । पहिलो हाफमा अवसर पाएपनि स्कोरमा चुक्यौं । एपीएफले अवसर पनि बनायो,' उनले भने, 'काउन्टर अट्याक बनाएका थियौ । मुख्य कुरा तीन अंक हो । त्यो आएको छ । अबको दुई चरण पार गर्दै उपाधिका लागि खेल्छौ ।'
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले अनुभवी खेलाडी हुँदा आर्मीसँग कठिन भएको बताए ।
'खेल हेर्दा राम्रो भयो । दुबैले गोल गर्यो । धेरै चान्स पाएनौ । बल पोजिसन भयो,' उनले भने, 'आर्मी बलियो छ । खेलाडीमा धेरै ज्ञान छैन । अनुभब छैन । हामीले दोस्रो गोल गोलकिपर र डिफेन्डरको गल्तिमा खायौं ।'
आर्मी प्लेईङ सेट -
विकेश कुथु, विकाश खवास, विकाश तामाङ,दिपक गुरुङ, सुमन अर्याल, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, टेक बहादुर बुढाथोकी, भरत खवास, दिनेश हेन्जन. जर्ज प्रिन्स कार्की
एपीएफ प्लेईङ सेट -
राजु योगी, राजन गुरुङ,रमेश दंगाल, सुदिप शिख्राकर, टोप बहादुर बिष्ट, आकाश बुढा मगर,आशिष लामा, बुद्धिमान राई,नबिन लामा, श्याम नेपाली,राजिब लोप्चन