काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक एक गोल गरे ।
पहिलो हाफमा एनआरटीसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको ७८ औं मिनेटमा सन्जोगको गोलबाट फ्रेन्ड्सले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ८१ औं मिनेटमा ब्राजिलियन खेलाडी कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई २-० को जित दिलाए ।
खेलमा फ्रेन्ड्सका अशिम भुसाल म्यान अफ दि म्याच चुनिए ।
फ्रेन्ड्सको लिगमा यो चौंथो जित हो । जितसँगै फ्रेन्ड्सले १० खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ ।
एनआरटीको यो तेस्रो हार हो । सातौं स्थानको एनआरटीले १० खेलमा १५ अंक जोडेको छ ।
के भन्छन् प्रशिक्षक ?
फ्रेन्ड्सका प्रशिक्षक मार्कोस डान्टेसले एनआरटीलाई हराएपछि शीर्ष ६ को लक्ष्यमा सहयोग पुगेको बताए ।
'शीर्ष ६ को सपना थियो । कोशिश गरिरहेको छु । च्यासललाई हराएपछी टिम राम्रो भएको छ,' उनले भने, 'विपक्षी हेरेर केटाहरुले कडा मेहेनत गरेका छन् । आज दोस्रो हाफमा केही परिवर्तन गर्दा राम्रो भयो ।'
एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले खेलाडी जित्नेमा बढी ढुक्क हुँदा हार व्यहोरेको बताए ।
'प्रदर्शनबाट सन्तुष्ट छैन । तीन अंकका लागि आएको थियौं । खेलाडी धेरै आत्मविश्वासी भए । हामीले खेल्न सकेनौ । स्ट्राइकरबाट सोचेजस्तो भएन,' उनले भने, 'ठुलो गल्ति भएको छ। खेल ठिकै भएको छ । शीर्ष ६ अझै बिग्रेको छैन । बढी आत्मविश्वासीले खेल तलमाथि हुन्छ । '
फ्रेन्ड्स प्लेईङ सेट -
फिलिपे डी सौजा,सुरज गुरुङ, विश्व अधिकारी, देव लिम्बु, प्रिजेन तामाङ, सरोज योन्जन लामा, वाग्नेर डी कार्मो, अशिम भुसाल, अनिल राई,सौलो डी, उत्तम राई
एनआरटी प्लेईङ सेट -
बिक्रम धिमाल, अजित प्रजापति,अशोक थापा, सरोज तामाङ, दर्शन गुरुङ,जोर्डन जुनियर,एरिक बिष्ट, आन्द्रे थेरी,श्याम बाबु क्याप्छाली, नविन गुरुङ,जुनियर निकेनज्ञुए