काठमाडौं । फेयर फुटबल क्लब धरानले चौंथो संस्करणको मादी नगरकप फुटबलको उपाधि जितेको छ ।
हाङथुम क्लबको खेल मैदानमा सोमबार भएको फाइनलमा संखुवासभाको मिर्मिरे युवा क्लब तामाफोकलाई २-१ ले पराजित गर्दै फेयर च्याम्पियन बनेको हो ।
फेयरलाई जित दिलाउन मिलन राई र साजन राईले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा मिलनले गोल गर्दै फेयरलाई सुरुवाती अग्रता दिलाए । यस्तै खेलको ६८ औं साजनले गोल गर्दै फेयरलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा मिर्मिरेका तिर्थ तामाङले एक गोल फर्काएपनि टोलीलाई हारबाट जोगाउन सकेन ।

उपाधिसँगै फेयरले १ लाख १५ हजार प्राप्त गरेको छ । उपविजेता बनेको मिर्मिरेले ७५ हजारमा चित्त बुझायो ।
फेयरका मिलन राई प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । मिर्मिरेका प्रदिप जिमी उत्कृष्ट गोलरक्षक चुनिए ।
यस्तै मिर्मिरेका अनिल जिमी सर्वाधिक गोलकर्ता बन्दा उत्कृष्ट डिफेन्डर फेयरका रमेश राजवंशी र फेयरकै असिम राई उत्कृष्ट मिडफिल्डर चुनिए ।
हाङथुम क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो ।
