काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो हार व्यहोरेको छ ।
सातदोबाटोमा सोमबार च्यासल युथ क्लबसँग २-० गोल अन्तरले पराजित हुँदै मनाङले लिगमा पहिलो हार व्यहोरेको हो ।
एन्फा कम्प्लेक्समा च्यासललाई जित दिलाउन ताइगा नाकामुरा र सन्तोष साहुखलले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा नाकामुराको गोलबाट च्यासलले अग्रता बनाएको थियो । उनले फ्रिकिकबाट गोल गरेका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा सन्तोषले गोल गर्दै च्यासललाई २-० को सहज जित दिलाए ।
यस्तै खेलको ९० औं मिनेटमा च्यासलका प्रशिक्षक बाल गोपाल साहुखलले रातो कार्ड पाएका थिए । खेलमा अपशब्द बोलेपछि रेफ्रीले उनलाई कार्ड देखाएका थिए ।
च्यासलसँगको हारसँगै मनाङको उपाधि यात्रामा धक्का लागेको छ । यस्तै मनाङको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।
लिगको दशौँ चरणमा पहिलो हार व्यहोरेको मनाङले १० खेलमा १९ अंक जोडेको छ । मनाङ लिगको तेस्रो स्थानमा रहेको छ ।
मनाङलाई हराएसँगै च्यासलले भने लिगमा तेस्रो जित निकालेको छ । च्यासलले १० खेलमा १२ अंक जोडेको छ । च्यासल लिगको नवौं स्थानमा उक्लिएको छ ।
खेलमा च्यासलका जापानी खेलाडी हायातो वाकिनो म्यान अफ दि म्याच चुनिए ।
मनाङ प्लेईङ सेट -
दिप कार्की,कमल श्रेष्ठ, लार्बा फ्लोरेस्ट, सुरज विश्वकर्मा, दयानन्द सिंह,फेमी जोसुवा,पुजन उपरकोटी, भिदाल लुइस, अन्जन बिष्ट,विमल राना, निशान लिम्बु
च्यासल प्लेईङ सेट -
एलेन न्यौपाने,अविशेक लिम्बु,बिक्रम लिम्बु, चेतन कुमार थारु, ताइगा नाकामुरा, छिरिङ गुरुङ, अमिर श्रेष्ठ, हायातो वाकिनो, हेमन्त थापा मगर,नितिन थापा, सन्तोष साहुखल