काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको ६८ औं खेलमा बीबीसी र जावलाखेल भिड्न लागेका हुन् । खेल बिहान साढे ११:३० बजे सुरु हुनेछ ।
लिगको दशौं चरणसम्म जावलाखेल शीर्ष ६ को लागि प्रतिस्पर्धा गर्दैछ । यस्तै पुछारतिर रहेको बीबीसी भने रेलिगेशन क्षेत्रबाट माथि उक्लन प्रयासरत छ ।
लिगमा ९ खेलेको जावलाखेल १२ अंकसहित तालिकाको ८ औं स्थानमा छ । यस्तै ८ अंक जोडेको बीबीसी ११ औं स्थानमा छ ।
जावलाखेल शहरी प्रतिद्वन्द्वी बीबीसीलाई पराजित गर्दै सातौं स्थानमा उक्लन चाहन्छ । लिगमा चौथो जित निकाल्दै जावलाखेल आफुलाई शीर्ष ६ भित्र अटाउने दाउमा छ ।
'हामी दुबै एउटै स्तरका टिम हौं । प्रतिद्वन्द्वीलाई कमजोर लिने छैनौं । हाम्रो लक्ष्य टप सिक्स हो । त्यसैमा लाग्छौं,' जावलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापा भन्छन् ।
कुल्दिप कार्कीको कप्तानीमा रहेको जावलाखेल अन्तिम खेलमा शीर्ष स्थानको आर्मीसँग १–० गोल अन्तरले पराजित भएको थियो । सोमबार उसलाई कुनै खेलाडीको अभाव हुने छैन । भारतीय स्ट्राइकर कुवेर सहित जावाखेलले आफ्ना ४ विदेशी खेलाडी तयार पारेको छ ।
यता, राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा रहेको ब्रिगेड भने जावलाखेललाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट टाढिन चाहन्छ ।
यू-१९ राष्ट्रिय टिमका अधिकांश खेलाडी बटुलेको बीबीसी तेस्रो जित निकाल्ने दाउमा छ ।
'रेलिगेशन क्षेत्रको फाइट जस्तै भएको छ । यसबाट टाढिन खेल्छौं । जावलाखेलविरुद्ध राम्रो खेल्दै जित निकाल्ने प्रयासमा छौं,' बीबीसीका ब्यवस्थापक अर्विन गुरुङ भन्छन् ।
अष्ट्रेलियामा रहदै आएका सुलभ मास्केको पहिलो खेलसँगै बीबीसी पछिल्लो खेलमा एनआरटीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।
जावलाखेलविरुद्ध बीबीसीले आफ्ना भारतीय डिफेन्डर मोहम्मद सौकातलाई गुमाउने छ । उनि दोस्रो पहेलो कार्डका कारण टिमबाहिर हुनेछन् । अन्य तीन विदेशी खेलाडी भने खेलाउने छ ।
जावलाखेलविरुद्ध जित हात पारे बीबीसी १० औं स्थानमा उक्लने छ ।