धनगढी । प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फ सुर्मादेवी युवा क्लब र पुरुषतर्फ सुदुरपश्चिम–११ स्पोर्टस क्लब फाइनलमा प्रवेश गरेका छन् ।
धनगढीको जुगेडामा आइतबार महिलातर्फ सुर्मादेवीले दुर्गालक्ष्मी माविलाई ९–० को अन्तरले हरायो । सुर्मादेवीका लागि निलम सिंहले चार गोल गरे भने अस्मिता चौधरीले तीन गोल गरिन् । अन्जली चन्दले दुई गोल गरिन् ।
पुरुषतर्फ सुदुरपश्चिमले स्टार सिटीलाई ४–० ले हरायो । सुदुरपश्चिमका लागि विक्रम सिंह, सागर विसी, माधव भण्डारी र विदेशी खेलाडी ग्लोरीले एक एक गोल गरे ।
अब महिलातर्फ सुर्मादेवीले फाइनलमा कालिका युवा क्लबसँग खेल्नेछ । पुरुषतर्फ सुदुरपश्चिमले पिएफए अत्तरियासँग खेल्नेछ ।
प्रतियोगिताको पुरुषतर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै महिलातर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।