धनगढी । पिएफए अत्तरिया र मनकामना युवा क्लबले पाँचौ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा जित निकालेका छन् ।
धनगढी रंगशालामा आइतबार भएको पहिलो खेलमा पिएफए अत्तरियाले मसुरीया फुटवल एकेडेमीलाई २–० ले हराएको हो । पिएफएका लागि विशाल राईले दुई गोल गरे ।
दोस्रो खेलमा मनकामनाले न्यु मदरल्याण्ड युवा क्लबलाई २–१ ले हरायो । मनकामनाका लागि सुरेश खत्री र किशोर सुवाले एक एक गोल गरे । मदरल्याण्डका लागि मनिष मगरले एक गोल फर्काए ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा सुदुरपश्चिम फुटबल एकेडेमी र नवोबुद्ध युवा क्लब तथा दोस्रो खेलमा नवदुर्गा युवा क्लब र गौरीगंगा–११ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।