काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविकको उपविजेता संकटा क्लबले साँघुरो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
संकटाको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा मार्टिन्सले गोल गरेका थिए । उनले क्षितिज राज जिटीको पास सदुपयोग गरेका थिए ।
खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए ।
शेर्पालाई हराएसँगै संकटा लिगको छैटौं स्थानमा उक्लिएको छ । संकटाले १० खेलमा १५ अंक जोडेको छ ।
लिगमा १० खेलमा ७ अंक जोडेको शेर्पा पुछारबाट तेस्रो स्थानमा रहेको छ । हारसँगै शेर्पालाई रेलिगेसनको डर कायमै रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
संकटाका मुख्य प्रशिक्षक विजय महर्जनले जुनियर खेलाडीबाट पनि महत्वपूर्ण ३ अंक आएको बताए ।
'आज जुनियर खेलाडीलाई मौका दिएका थिए । त्यसैले अंक आयो । लक्ष्यमा सफल भयौं,' उनले भने ।
शेर्पाका प्रशिक्षक संजिब बुढाथोकीले अघिल्ला खेलको तुलनामा संकटासँग राम्रो भएको बताए ।
'अघिल्ला दुई खेल भन्दा राम्रो भयो । संकटाले पाएको एक मौकामा गोल गर्यो । अस्तिको भन्दा राम्रो भयो खेल,' उनले भने, 'अब रेलिगेसनबाट बच्न गाह्रो छ । अघिल्लो खेलले धेरै घाटा भयो । अब ३ खेलमा ४ अंक भए सहज हुन्छ ।'
संकटा प्लेईङ सेट -
सुबास गुरुङ, अर्नेष्ट टेम्पी, लक्ष्मण रुचाल,विनय श्रेष्ठ,अजयी मार्टिन्स,विष्णु सुनार,रोमन लिम्बु,रोशन पहारी,दिपेश आले मगर,क्षितिज राज जिटी,सरोज दाहाल
शेर्पा प्लेईङ सेट -
किशोर गिरि,मान बहादुर तामाङ,विजय श्रेष्ठ,त्रिदेब गुरुङ,कमल थापा मगर,उल्रीच सीवी,दिवस उराउ,खामिर गिल्सन काङ्दङवा,स्टेफेन समिर,आदर्श लामा, निरज बस्नेत