काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि होडमा रहेको त्रिभुवन आर्मी क्लबले आईतबार विभागीय डर्बी अन्तर्गत नेपाल पुलिस क्लबको सामना गर्दैछ ।
दशरथ रंगशालामा हुने दिनको दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
लिगको ६७ औं खेलमा पुलिस र आर्मी एक आपसमा भिड्न लागेका हुन् । एक प्रकारले विभागीय भिडन्त प्रतिष्ठाको लडाई पनि हो ।
एक खेल कम खेलको आर्मी २० अंक सहित दोस्रो स्थानमा छ । १० खेल खेलेको मछिन्द्रले आर्मीलाई आईतबार २ अंकले पछि पारेको हो ।
लिगको आफ्नो दशौं खेलमा पुलिसलाई हराउँदै आर्मी पुनः शीर्ष स्थानमा आफ्नो पकड बनाउन चाहन्छ । पुलिसविरुद्ध आर्मी सातौं जितको खोजीमा हुनेछ ।
‘अहिले शीर्ष स्थानमा जाने कि नजाने सबै आफ्नै हातमा छ । पुलिसविरुद्धको खेल फाइनल सरह छ । एक प्रकारले यो खेल प्रतिस्ठाको लडाई पनि हो ।’ आर्मीका सहायक प्रशिक्षक तथा ब्यवस्थापक चुन बहादुर थापा भन्छन् ।
राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको नेतृत्वमा रहेको आर्मीले साविक विजेता मनाङसँग मात्रै पराजित भएको छ । पुलिसविरुद्ध उसलाई कुनै खेलाडीको समस्याले पिरोल्ने छैन ।
यता, पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेको पुलिस आईतबार आर्मीलाई राम्रो टक्कर दिने दाउमा छ । आईतबार पुलिस गतसिजन लिगमा ब्यहोरेको १–० को हारको बदला लिने दाउमा छ ।
प्रतिस्ठाको लडाईमा पुलिस आर्मीलाई रोक्न चाहन्छ ।
‘चालु लिगमा आर्मी राम्रो छ । उसलाई पछिल्लो समय राम्रै फाइट दिएका छौं । आक्रमक.खेल खेल्दै तीन अंक लिन्छौं ।’ पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा भन्छन् ।
भोला सिलवालको कप्तानीमा रहेको पुलिसले आर्मीविरुद्ध स्ट्राइकर सुमन लामा, रविन श्रेष्ठ र सन्तोष हेम्रुनलाई गुमाउने छ । सुमन र रविन घाईत छन् भने सन्तोष पारिवारिक समस्याका कारण टिममा छैनन् ।
आर्मीविरुद्धका जितले १४ अंक सहित छैठौ स्थानमा रहेको पुलिस पाचौं स्थानमा उक्नले छ ।