काठमाडौं । गत मंगलबार हिमालयन शेर्पा क्लबले सरस्वती युथ क्लबसँग अप्रत्यासित हार ब्यहोर्याे ।
लिगको पुछारको सरस्वतीसँगको हारसँगै शेर्पाले रेलिगेशन क्षेत्रबाट टाढिने मौका गुमायो । शेर्पा पनि रेलिगेशन क्षेत्रकै नजिक रह्यो ।
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शेर्पाले आईतबार संकटा क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा दिनको पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
लिगमा एक खेल कम खेलेको शेर्पा ७ अंक सहित १२ औं स्थानमा छ । यस्तै समान ९ खेलबाट संकटा १२ अंक सहित तालिकाको ८ औं स्थानमा छ ।
दशौं चरणको खेलमा शेर्पालाई जित्नैपर्ने दबाब छ । साविकको उपविजेता संकटाविरुद्ध जितले शेर्पाले कम्तिमा आफुलाई रेलिगेशन क्षेत्रबाट टाढा रहेको महशुस गर्नेछ ।
‘सरस्वतीसँग राम्रो खेल्न सकेनौं । अब, रेलिगेशनबाट बच्न राम्रो खेल्नुपर्छ । खेल निकैनै प्रतिस्पर्धात्मक हुनेछ ।’ हिमालयन शेर्पा क्लबका प्रशिक्षक संजिब बुढाथोकी भन्छन् ।
आईतबार शेर्पालाई कुनै खेलाडीको समस्या हुनेछैन । मान बहादुर तामाङको कप्तानीमा रहेको शेर्पाले २ विदेशी खेलाडी खेलाउने छ । उसका विश्वास श्रेष्ठ भने लिगको तेस्रो खेलबाट चोटले बाहिर छन् । उनले लिगका सबै खेल गुमाउने निश्चित छ ।
यता, अन्तिम खेलमा साविकको विजेता मनाङ मस्र्याङ्दी क्लबसँग पराजित संकटा शेर्पाविरुद्ध भने हार बिर्साउने तयारीमा छ । संकटा चौथो जित निकाल्दै शिर्ष ६ मा आफुलाई स्थापित गराउन चाहन्छ ।
‘पछिल्लो खेलमा केटाहरुले राम्रो गर्न सकेनन् । शेपालाई सहज लिन्नौं । युवा खेलाडीलाई मौका दिदै नतिजाका लागि खेल्छौं ।’ संकटा क्लबका प्रशिक्षक विजय महर्जन भन्छन् ।
आईतबार संकटाले आफ्ना विदेशी मिडफिल्डर मासौके मारियालाई गुमाउने छ । उनी दोहोरो पहेलको कार्डका कारण निलम्बनमा हुनेछन् ।
शेर्पाविरुद्ध जित निकालेको खण्डमा संकटा छैठौं स्थानमा उक्लने छ । शेर्पा पनि संकटालाई हराउँदै दशौं स्थानमा उक्लने दाउमा छ ।