एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गरेको थियो ।
खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।

६० औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।
जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ । र, लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ ।
जितपछि लिभरपुलले घरेलु मैदानमा लगातार २० खेलको जितको कीर्तिमानसँग बराबरी गरेको छ । यस अघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जित्ने कीर्तिमान बनाएको थियो ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक रहेको छ । पराजित साउथह्याम्पटन ३१ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै एभर्टनले वाट्फोर्डलाई ३-२ गोल अन्तरले पराजित गर्दा बर्नेमाउथले एस्टन भिल्लालाई २-१ ले हराएको छ ।

सेफिल्डले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दा वेष्ट ह्याम र ब्राइटन ३-३ गोल तथा न्युकासल र नर्विच गोलरहित बराबरीमा रोकिएका छन् ।