एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लिनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा फराकिलो जित निकाल्ने क्रममा डर्टमण्डले १३ औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता बनाएको थियो । १८ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
६८ औं मिनेटमा मार्को रिउसले पेनाल्टीमा गोल गर्दै डर्टमण्डलाई ३-० को अग्रता दिलाए । ७० औं मिनेटमा एलेक्स विसलले गोल गर्दा डर्टमण्ड ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ५-० को फराकिलो जित दिलाए । बर्लिनसँगको दुई गोलसँगै हालाण्डले डर्टमण्डका लागि ३ खेलमा ७ गोल गर्न सफल भएका छन् ।
जितसँगै डर्टमण्ड तेस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले २० खेलमा ३९ गोल गरेका छन् । २३ अंक जोडेको बर्लिन १२ औं स्थानमा रहेको छ ।