काठमाडौं । शीर्ष स्थानमा एक अंकले चुकेको मछिन्द्र र रेलिगेशन क्षेत्रबाट १ अंकले बचेको एपीएफ सहिद स्मारक ए डिभिजन लिगको दशाैँ चरणमा भिड्दैछन् ।
शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र र एपीएफ आमने सामने हुनेछन् । निकैनै रोमाञ्चक हुने अनुमान गरिएको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्दै तालिकामा स्थान सुधार गर्न चाहन्छन् । एक प्रकारले दुबै टिम निकै दबाबमा हुनेछन् ।
मछिन्द्रलाई शीर्ष स्थानमा उक्लन दबाब छ । एपीएफ रेलिगेशन क्षेत्रबाट टाढा रहन चाहन्छ । मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा दुई अंकको अग्रता लिन चाहन्छ । यस्तै, एपीएफ दोस्रो जित निकाल्दै रेलिगेशन क्षेत्रबाट आफुलाई माथि उकाल्न चाहन्छ ।
अन्तिम खेलमा थ्री स्टारविरुद्ध २–० को जित निकालेको मछिन्द्र सोहि प्रदर्शन दोहर्याउने दाउमा छ ।
“तालिका जस्तो सुकै होस् । एपीएफ बलियो छ । पछिल्लो खेलमा शेर्पासँग भोगिसकेका छौं । आफ्नो खेल खेल्दै शीर्ष स्थानमा फर्कन चाहन्छौं ।” पहिलो पटक मछिन्द्र हेरिरहेका मुख्य प्रशिक्षक प्रवेश कटुवाल भन्छन् ।
पहिलो पटक लिग जित्ने लक्ष्य सहित होमिएको मछिन्द्रलाई शनिबार खेलाडीको चोट समस्याले सताउन सक्छ । उसका बैकल्पिक कप्तान सुजल श्रेष्ठ र रेजिन सुब्बा चोटका कारण खासै जम्न सकेका छैनन् । चोटकै कारण दिपक राईले एपीएफविरुद्धको खेल गुमाउन सक्छन् ।
टिममा अनुबन्धित हेमन गुरुङ अष्टे«लिया र अभिषेक रिजाल माल्दिभ्स लागेपछि मछिन्द्रलाई झनै समस्या परेको छ ।
चालु लिगमा १९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ । गत सिजनको खराव प्रदर्शन बाबजुद मछिन्द्रसँग यस पटक सुरुवातबाटै १ अंक खोसिएको हो । यस्तै ५ अंक जोडेको एपीएफ पुछारबाट तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यता, एपीएफ पनि मछिन्द्रलाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट बच्न चाहन्छ ।
“टिम अहिले केहि दबाबमा छ । मछिन्द्रलाई राम्रो फाइट दिन्छौं । अट्याक र डिफेन्सिभ गेम खेल्दै अंक खोस्न लाग्छौं ।” एपीएफ क्लबका प्रशिक्षक राजेन्द्र तामाङ भन्छन् ।
शनिबार एपीएफले आफ्ना डिफेन्डर सुदिप सिख्राकारलाई गुमाउने छ । पुलिसविरुद्ध उनले खेल सकिएसँगै रातो कार्ड खाएका थिए । यस्तै मछिन्द्रले पनि दोस्रो पहेलो कार्डका कारण आफ्ना विदेशी मिडफिल्डर आद्रेनियालाई गुमाउने छ ।