काठमाडौं । गत मंगलबार लिगको पुछारमा रहेको सरस्वतीले पहिलो जित निकाल्यो । शेर्पाविरुद्धको नाटकीय ४–३ गोल अन्तरले विजयी भएपनि सरस्वती अझै रेलिगशेन क्षेत्रमै रहेको छ ।
पहिलो जित निकालेको सरस्वतीले बाँकी ४ खेलमा जित निकाल्दै रेलिगेशनबाट बच्ने दाउमा छ । तर उसले पहिलो जित निकालेको चौथो दिनमै बलियो थ्री स्टार क्लबको सामना गर्दैछ ।
सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको पहिलो खेलमा कोटेश्वरको सरस्वतीले मंगलबजारको थ्री स्टार क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा शनिबार हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
दशौं चरणको पहिलो खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् ।
सरस्वतीलाई हराउँदै थ्री स्टार शीर्ष ६ को यात्रा सहज बनाउने दाउमा हुनेछ ।
अन्तिम खेलमा मछिन्द्रसँग २–० ले पराजित थ्री स्टारले आफु उपाधि यात्राबाट बाहिरिसकेको बताएको छ । सरस्वतीविरुद्ध पाँचौं जित निकाल्दै थ्री स्टार एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लन चाहन्छ ।
“प्लेयर सबै फिट छन् । अघिल्लो खेलमा हारको बाबजुद खेलाडीले राम्रो गरेका छन् । टप सिक्समा बस्न र दोस्रो तेस्रो स्थानमा रहनको लागि खेल निकै महत्वपुर्ण छ ।” थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी भन्छन् ।
यता, सरस्वती पनि थ्री स्टारलाई हराउँदै रेलिगेशन क्षेत्रबाट माथि उक्लिन चाहन्छ । सरस्वती लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।
पछिल्लो खेलको प्रभाबशाली जितले खेलाडीको मनोबल बढेको छ । शनिबार सरस्वती “गर या मर”को स्थिति हुनेछ । थ्री स्टारसँगको एक हारले उसको रेलिगेशनको सम्भावना बलियो हुनेछ ।
“जित्नै पर्ने अवस्था छ । पछिल्लो जितले खेलाडीको मनोबल उच्च छ । राम्रो टक्कर दिन्छौं ।” बिगत ७ बर्षदेखि सरस्वती क्लब हेर्दै आएका प्रदिप नेपाल भन्छन् ।
७ खेलबाट ४ अंक बटुलेको सरस्वती पुछारमा रहेको छ । यस्तै समान खेलबाट १४ अंक बटुलेको थ्री स्टार ५ औं स्थानमा छ ।
शनिबार दुबै टिमलाई कुनै खेलाडीको समस्या छैन । थ्रीस्टारले दक्षिण एसियाली एक खेलाडीसहित ४ विदेशी खेलाडी मैदान उतार्ने सक्नेछ । सरस्वतीले दुई मात्रै विदेशी खेलाडी खेलाउने तयारी गरेको छ ।