काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा बिहिबार फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटी क्लबले जित निकालेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नवौँ चरणको अन्तिम दिन ललितपुरको फ्रेन्ड्स र एनआरटीले जित निकालेको हो ।
ललितपुर डर्बी भिडन्तमा फ्रेन्ड्सले च्यासल युथ क्लबविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो । भारतीय खेलाडी उत्तम राईले ८४ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।
फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएपछि आएको रिबाउन्ड बलमा उत्तमले गोल गरेका थिए । च्यासलसँगको गोलसँगै उत्तम राईले जारी लिगमा ४ गोल पुर्याएका छन् ।
यता, खेलमा पाएको केहि मौका सदुपयोग गर्न नसक्दा च्यासल चौथो हार ब्यहोर्न पुग्यो । प्रतियोगितामा ९ खेल खेलेको च्यासल ९ अंक सहित दशौं स्थानमा रहेको छ । यस्तै प्रतियोगितामा तेस्रो जित निकालेको फ्रेन्ड्स ११ अंक सहित नवौं स्थानमा उक्लिएको छ ।
बिहिबार भएको दोस्रो खेलमा एनआरटीले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० ले पराजित गर्याे ।
राष्ट्रिय टिमका पूर्व कप्तान तथा स्ट्राइकर अनिल गुरुङको नेतृत्वमा रहेको ब्रिगेडलाई पराजित गर्ने क्रममा राजेश परियारले दुई गोल गरे । खेलको २२ औं मिनेटमा क्रिशन कुमारको स्थानमा मैदान प्रवेश गरेको राजेशले मैदान छिरेको ७ मिनेटमै पहिलो गोल गरे । दर्शन गुरुङले मैदानको दायाँ भागबाट गरेको क्रसलाई राजेशले डिबक्स भित्रबाट सदुपयोग गरे । राजेशको प्रहार बिबिसीका डिफेन्डर पदम भट्टराईले रोक्ने प्रयास गरेपनी सफल भएन् ।
यस्तै५२ औं मिनेटमा श्याम बाबू क्याप्छालीले डिबक्स भित्रबाट मिलाएको पासलाई यू -२३ राष्ट्रिय टिमका सदस्य समेत रहेका राजेशले दोस्रो गोल गरे । खेलको ६२ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमा गोल फर्काउने मौका पायो । तर, ब्रिगेडका कप्तान अनिल गुरुङ पेनाल्टीमा गोल गर्न चुके । अनिलको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोकिदिए ।
जितसँगै एनआरटी लिगको चौंथो स्थानमा उक्लिएको छ । एनआरटीले ९ खेलमा १५ अंक जोडेको छ । ब्रिगेड ९ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।