धनगढी । स्टार सिटी क्लब र आयोजक मनकामना युवा क्लबको ए टिम भीडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धनगढीको जुगेडामा बिहिबार स्टार सिटीले आयोजक मनकामनाको बी टिमलाई ५–० गोल अन्तरले पराजित गर्यो । स्टार सिटीको जितमा कलम देउवा र कुवेर सिंहले दुई दुई तथा रोशन खत्रीले एक गोल गरे ।
यस्तै मनकामनाको ए टिमले लमदरल्याण्ड युवा क्लबलाई ३–० ले हरायो । मनकामनाको जितमा कृजल खड्काले दुई गोल गरे । यस्तै सुरेश खत्रीले एक गोल गरे ।
मनकामना युवा क्लबको आयोजनामा भईरहेको भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार तथा उपविजेताले ४१ हजार पाउने छन् । त्यस्तै महिलातर्फको विजेताले २० हजार तथा उपविजेताले १० हजार पाउने छन् ।