काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीको जितमा वैकल्पिक खेलाडी राजेश परियार नायक बने । एनआरटीको जितमा दुवै गोल राजेशले गरे ।
राजेश २२ औं मिनेटमा क्रिषण कुमारको स्थानमा मैदान छिरेका थिए । मैदान छिरेको १० मिनेट नबित्दै ३२ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।
मैदानको दायाँ भागबाट दर्शन गुरुङले उपलब्ध गराएको पासलाई डिबक्स भित्र रहेका राजेशले सदुपयोग गर्दै गोल गरे ।
खेलको ५२ औं मिनेटमा राजेशले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए ।
खेलको ६२ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमा गोल फर्काउने मौका पायो । तर, ब्रिगेडका कप्तान अनिल गुरुङ पेनाल्टीमा गोल गर्न चुके । अनिलको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोकिदिए ।
यस सिजन अनिल गोल विहीन रहेका छन् । अनिलले २०७० पछि लिगका गोल गरेका छैनन् ।
त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र एनआरटी २-० ले विजयी भयो ।
जितसँगै एनआरटी लिगको चौंथो स्थानमा उक्लिएको छ । एनआरटीले ९ खेलमा १५ अंक जोडेको छ ।
ब्रिगेड ९ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
एनआरटीका मुख्य प्रशिक्षक राजु काजी शाक्यले खेलाडीको मेहेनतले सुखद नतिजा आएको बताए ।
'अंक आउदा राम्रो भयो । खेल त्यति नराम्रो पनि थिएन । तर, जितियो । धेरै खेलाडी घाईते भएपनी मेहनत अनुसार नतिजा आयो,' उनले भने, 'उपाधिका लागि गाह्रो हुन्छ । टप सिक्समा हुन्छौ । यहिँ नतिजा आएमा दोस्रो वा तेस्रो हुन्छौ ।'
ब्रिगेडका मुख्य प्रशिक्षक खगेन्द्र पुनले एनआरटीसँगको हारले रेलिगेसनको डर भएको बताए ।
'नतिजा कठिन हो । पहिलो हाफ राम्रो थियो । सानो गल्तीमा गोल भयो । पेनाल्टी पनि चुक्यो । पेनाल्टी गोल भएको भए केही हुन्थ्यो,' उनले भने, 'खेल कठिन थियो। अब रेलिगेसनको डर भयो । आजको पहिलो हाफको जस्तो खेल भयो भने राम्रो हुन्छ ।'