काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य अनिता बस्नेत रहेको सेथु एफसीले भारतको हिरो महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
बैंगलोर फुटबल स्टेडियममा बिहिबार भएको खेलमा सेथुले बीबीके डीएभीलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।
सेथुको जितमा सन्ध्याले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै सुमिथ्रा र कार्थिकाले २/२ गोल गरिन् । कुन्ती कुमारी लाक्राको नाममा एक गोल रह्यो ।
जितसँगै सेथुले ३ खेलमा ६ अंक जोडेको छ । र, सेथु शीर्ष स्थानमा उक्लिएको छ ।
यस अघि दोस्रो खेलमा सेथु क्रिप्सा एफसीसँग २-० गोल अन्तरले पराजित भएको हो ।
पहिलो खेलमा भने सेथुले कोल्हापुर सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।
साविक विजेता समेत रहेको सेथुको तेस्रो खेलमा मिडफिल्डर अनिताले मैदान उत्रने मौका पाएकी थिइन् ।
अनिता दोस्रो सिजन सेथुबाट खेलिरहेकी हुन् ।